काठमाडौँ, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । पार्टी कार्यालय बसुन्धरामा शुक्रवार बसेको केन्द्रीय समिति बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको निर्णयले प्रधानमन्त्री प्रचण्डले संसदबाट पुनः विश्वासको मत लिनु पर्ने भएको छ ।
नागरिकता विवादमा मुछिएर सर्वोच्चको फैसलाले सभापति रवि लामिछानेले सांसद पद गुमाएका थिए । लामिछानेको सांसद र गृहमन्त्री गएसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, समर्थन भने कायमै थियो ।
सभापति लामिछाने चिवन २ बाट पुनःनिर्वाचित भएपछि रास्वपालाई सरकारमा सहभागी गराउन सत्ता गठबन्धनले छलफल गरिरहेको थियो । सभापति लामिछानेले पनि आफ्नो माग पुरा भएमा सरकारमा सहभागी हुन सकिने बताएका थिए । तर, पार्टीभित्रको तीव्र दबाबपछि अन्ततः रास्वपाले सरकारमा नजाने निर्णय गरेको नेताहरुको भनाइ छ ।







