काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित पार्टीको धादिङ-काठमाडौँ सम्पर्क भेलामा उनले यस्तो बताएका हुन् ।
उनले ०८४ को निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेताकार्यकर्ताले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
`जान्नेलाई छान्ने’ काम गरिए राम्रा मानिस पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गराउने उनको तर्क छ ।
सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिर समेत गरे । लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिने गरी अघि बढ्न सिंगो पार्टीपंक्तिलाई आह्वान गरेका हुन् ।
नयाँ पार्टी र व्यक्तिहरूबीच फाटो ल्याउन ठूला दलहरूले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने उनले बताए ।







