Logo

रास्वपाले भन्याे– ‘सभापति लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह’



काठमाडौं, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ।

कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै सभापति पक्राउप्रति घोर भर्त्सना गरेको जनाउनु भयो । न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको समेत उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने बताइएको छ ।

‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ ’ विज्ञप्तिमा भनिएको छ , ‘तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ । तर, कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन । ’

बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको समेत (रास्वपा)ले आरोप लगाएको छ ।

‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन् हामी डराएका छैनौँ, तर्सिएका हैनौँ । अब परिवर्तनको लडाई थप बुलन्द भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक जालझेलको विरुद्ध उभिन समेत विज्ञप्तिमा आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्