काठमाडौँ, २ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो अभियान थालेको छ ।
रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो ।
‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो । रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्ने उनले जानकारी दिए । अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने प्रवक्ता ढकालको भनाइ छ ।
“चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दैछौँ”, उनले भने । यही मङ्सिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ ।







