काठमाडौं, १३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)बीच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ। आइतबार दुवैले एउटै पार्टीको नेतृत्वमा आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने घोषणा गर्दै सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार लामिछाने रास्वपाका केन्द्रीय सभापति रहनेछन् भने आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारिने उल्लेख गरिएको छ।
एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने र चुनाव चिन्ह ‘घण्टी’ यथावत रहने सहमति भएको छ। सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन—विशेषगरी भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’—बाट उठेका जनआवाजलाई संस्थागत रूपमा अघि बढाउने उल्लेख सहमति पत्रमा समावेश छ।
त्यसैगरी पार्टीको संगठनात्मक संरचना थप सक्षम र समावेशी बनाउँदै युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिने र परिवर्तनकामी तथा सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूसँग सहकार्य गर्ने निर्णय गरिएको छ।








