काठमाडौं, १८ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पीडितहरुलाई राहतको लागि सरकारले एक अर्ब रकम विनियोजित गरेको बताउनु भएको छ ।
शुक्रबार पूर्वाधार विकास समितिमा भएको बैठकमा उहाँले राहतकालागि फन्डको आह्वान गरेको भन्दै एमाले र नेपाली काङ्ग्रेसले सांसदहरुको १५ दिनको तलब दिने निर्णय गरेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राहतको लागि फन्डको आह्वान गरेका छौं । सरकारले त्यो फन्डमा एक अर्ब पैसा विनियोजित गरिसकेको छ । अरु दाताहरुबाट पनि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट मन्त्रीहरुको एक महिनाको तलब दिने भन्ने निर्णय गरेको छ । साथै सांसदहरुको पनि एमाले र नेपाली काङ्ग्रेसले निर्णय नै गरेको छ । १५दिनको तलब दिने भनेको छ । यसमा अन्य पार्टीको पनि सहयोग होला । यसरी फन्ड जम्मा गर्ने काममा पनि लागि रहेका छौं ।’
यस्तै, उहाँले वीपि राजमार्गमा फसेका गाडी र मानिसबाहेक सबै उद्धारका कामहरु पनि सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उद्धारको काम लगभग सकाएका छौ । तर वीपि राजमार्गमा थुप्रै गाडी र मानिस फसेका छन् । ती गाडीहरुलाई उद्धार गर्ने पहिलो काम रहेको छ । यो काम सकेपछि उद्धारका काम सक्छौ । त्यसपछि मृतकहरुका परिवारलाई दिने क्षतिपूर्तीको कुरामापनि सरकारले निर्णय गरिसकेको छ । यसपछि राहतर पुनस्थापनाको कुरा छ । पुनस्थापनाको सन्दर्भमा मन्त्रिपरिषद्को बैठक बस्दैछ ।’
यसको साथै, उहाँले अहिलेलाई बीपी राजमार्ग बाहेक अन्य राजमार्ग सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्को भनेको पुनःनिर्माणको कुरा छ । यसको सन्दर्भमा प्रारम्भिक अनुमान पनि गरेका छौं । करिब २० देखि २५ अर्ब पैसा पुननिर्माणमा लाग्छ र त्यसमध्ये सबैभन्दा धेरै पैसा बीपी राजमार्गमा लाग्छ । अहिले बाटो खोल्नको लागि मात्र काम गरिरहेका छौं । अहिलेलाई बीपी राजमार्ग बाहेक अन्य राजमार्ग सञ्चालनमा ल्याउने तयारीमा छौ ।’
यातायातको विषयमा पनि चाडपर्व केन्द्रीत बाटोलाई निर्माण गर्ने, बाटोलाई सहज बनाउने भनेर निरन्तर प्रयासमा रहेको उहाँको भनाई छ ।
बैठकमा असोज ११ र १२ गतेको अविरल वर्षाको कारण राष्ट्रिय राजमार्गहरुमा परेका असर, सोही अविरल वर्षाको कारण जलविद्युत आयोजनाहरुमा परेका असर र सोहीकारण कुलेखाने जलविद्युत आयोजनाको ड्यामबाट परेका असरबारे छलफल भएको थियो ।