काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट-भूकम्पपीडितको राहत र पुन:स्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले भूकम्प प्रभावित जनतालाई विश्वासमा लिएर तयारीका साथ काम गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री दाहालले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दु:ख व्यक्त गर्दै विपत्तिलाई पुन:निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औँ बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले विपदपछिको उद्दार, राहत र पुन:निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गरेका छन् ।
प्रधानमन्त्री दाहालले भूकम्प गएलगत्तै तीनै तहका सरकार र निकायबाट गरिएको पहल सकारात्मक रहेको उल्लेख गरेका थिए । उनले विस २०७२ को भूकम्प गएको समयमा गरिएको असल अभ्यासका आधारमा विद्यमान ऐन, नियम र संरचनालाई पुन:संरचना गरी शीघ्र रुपमा काम गर्नका लागि तयारी गरिएको बताए ।
“भूकम्पपछि सबै दल, सङ्घीय सरकार र विभिन्न निकायहरु, प्रदेश सरकार र स्थानीय सरकारले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दछु । हिजो हामीले खोज, उद्धार र उपचारको काम गर्नुपथ्र्यो, हामीले त्यो काम मूलभूत रुपमा पूरा गरेका छौँ । अब राहत र पुन:स्थापनातर्फ केन्द्रित हुनुपर्छ”, प्रधानमन्त्री दाहालले भने ।
उनले भूकम्पपीडितहरुलाई न्यानो कपडाको व्यवस्थापन गर्न र उपचार प्रभावकारी बनाउन निर्देशन दिए । नेपाल प्राकृतिक विपदको जोखिममा रहेको मुलुक भएको भन्दै प्रधानमन्त्री दाहालले सरकारले जति पहल गर्नुपर्ने हो र जनतामा जति चेतना अभिवृद्धि गर्नुपर्ने हो त्यो नपुगेको बताए ।
“अबको तीन दिन राहतका निम्ति अधिकतम पहल गरौँ । पुनःस्थापना प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ । विद्यमान ऐन, विधि र संरचनाले पुन:निर्माणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ”, उनले भने ।







