स्पेन, २ पुस । स्पेनिस ला लिगाको शीर्ष रोमान्चक बनिरहेको छ । जिरोनालाई पछि पार्दै रियल म्याड्रिड पुन: पहिलो स्थानमा पुगेको छ ।
रियलले आइतबार राति भिल्लारियाललाई ४-१ ले सहजै हराएको हो । टोलीको जितमा जुड बेलिङगम, रोड्रिगो, ब्राहिम डियाज र लुका मोड्रिचले गोल गरेका थिए ।
घरेलु टोलीले खेलको २५ औं मिनेटमा बेलिङगमको हेडर गोलमार्फत अग्रता लिएको थियो । उनले मोड्रिचको पासमा गोल गरेका हुन् । ३७ औं मिनेटमा रोड्रिगोले गोल गरे । अफसाइड लिएको त्यो गोललाई भिएआरले मान्यता दिएको थियो ।
५४ औं मिनेटमा होसे लुइस मानेरालेसले गोल गर्दै अन्तर घटाएका थिए । तर ६४ औं मिनेटमा डियाजले गोल गर्दै रियालको अन्तरलाई बढाए । ६८ औं मिनेटमा मोड्रिचले गोल गरेपछि रियलको जित सहज बन्यो । रियलको १७ खेलबाट ४२ अंक पुगेको छ । एक खेल कम खेलेको जिरोना सोमबार हुने खेलमा विजयी भएमा पुन: शीर्ष स्थानमा फर्कने छ।