Logo

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला



काठमाडौं, ७ पुष । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई लक्षित गर्दै कुल ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको हो।

कम्पनीले निष्कासन गर्न लागेको कुल ११ लाख ५५ हजार ८६० कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सामूहिक लगानी कोषका लागि, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि तथा ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँड गरिसकेको छ। बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयहरूबाट, साथै ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओको आवेदन अवधि छिटोमा पुस ११ गतेसम्म र ढिलोमा पुस २१ गतेसम्म रहनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

यसअघि कम्पनीले मंसिर २२ गतेदेखि पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गरिसकेको थियो।

 

प्रतिक्रिया दिनुहोस्