झापा, २९ चैत । नेकपा एमाले झापाका पुराना नेता डिल्लीराम घिमिरेले रुदै एमाले परित्याग गरेका छन् ।
घिमिरेले आज काकडभिट्टामा पत्रकार सम्मेलनमार्फत चार दशकदेखि कम्युनिस्ट आन्दोलनमा होमिएको भएपनि पार्टीले उचित मुल्यांकन नगरेको र गुटबन्दी गरेको बताए ।
पत्रकार सम्मेलनमा रुदै उनले भने, ‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् । मेरो आँसुले मलाई अन्याय गर्नेहरुलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदै रुँदै बाहिरिने अवस्था सिर्जना गरे ।’
घिमिरेले भक्कानिदै आफु लगायत हजारौं, लाखौं कार्यकर्ताले रगत पसिना बगाएर निर्माण भएको पार्टी मार्फत प्राप्त राजनैतिक उपलब्धीहरु गणतन्त्र, संघियता, समावेसीता लगायतका उपलब्धीहरुलाई संस्थागत गर्नुको सट्टा पार्टी भित्र चरम गुठबन्दी र दक्षिणपन्थी अवसरवाद हाबी हुँदै गएको र राजनैतिक उपलब्धीहरुलाई समाप्त पार्नको निमित योजनावद्ध ढङ्गले लागि परेको पछिल्लो घटनाक्रमहरुले स्पष्ट पारेको बताए ।
पत्रकार सम्मेलन पश्चात पत्रकारसँगको कुराकानिमा घिमिरेले आफूलाई निक्कै हतार भएकाले अरु प्रश्न नगर्न आग्रह गरेका थिए । घिमिरे निकट एक एमाले कार्यकर्ताले उनी तनाब छल्न केही दिनका लागि भारतको सिलिगुडी तिर प्रस्थान गर्ने जानकारी दिए ।
तत्कालीन काँकरभिट्टा गाबिसका अध्यक्ष भइसकेका घिमिरेले पार्टीभित्र पटक पटक अन्याय सहन नसकेर उमाले परित्याग गरेको उल्लेख गरेका छन् । उनले गुटबन्दीका नाइकेहरुसँग पटक पटक अन्याय सहेर बस्नु भन्दा स्वतन्त्र जीवन जिउनु उचित हुने भन्दै पार्टी परित्यागको घोषणा गरेका छन् ।
पञ्चायत कालदेखि नै बामपन्थी राजनीतिमा सक्रिय घिमिरे एमाले झापाका स्थापित नेता हुन् । उनी एमालेबाट २०४९ सालमा काँकरभिट्टा गाबिसका अध्यक्ष भएका थिए । उनले मेचीनगर नगरपालिकाको मेयर पदको उम्मेदवार हुने आकांक्षा राखेका थिए । तर, एमाले भित्रको दश बुँधे पक्षधर भएकाले आन्तरिक गुटबन्दीको शिकार भए । आन्तरिक प्रतिस्पर्धामा तीन जनाभित्र अँटाउन सकेनन् । घिमिरेको मेचीनगरमा राम्रो पकड भएका नेतामा पर्दछन् ।