रुस, ९ असार । रुसमा विद्रोह सुरु गरेको निजी शैन्य कम्पनी वाग्नर समूहले दुई वटा सहर कब्जा गरेको छ ।
वाग्नर समूहले रुसको दक्षिणी सहर रोस्तोव र वोरोनिश सहर कब्जा गरेको बीबीसीले जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्धको लडाइँमा प्रयोग गरेको वाग्नर समूहले युक्रेनसँगको लडाइँमा पर्याप्त हतियार नदिएको, आफ्नो सेनामाथि रुसी सेनाले आक्रमण गरेको लगायतका आरोप लगाउँदै विद्रोह सुरु गरेको हो ।
वाग्नर समूहका सेनाहरु रुसको राजधानी मस्कोतर्फ अघि बढिरहेका छन् । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रुसी रक्षामन्त्री सर्गेइ शोइगु र सेनाप्रमुख वालेरी गेरासिमोवले आफूसँग नभेटेसम्म आफ्नो सैनिक मस्कोतर्फ बढ्ने बताएको बीबीसीले जनाएको छ ।
उनले यो सैन्य विद्रोह तथा कु नभइ न्यायको माग भएको भन्दै २५ हजार सेना मर्न तयार भएर अघि बढेका बताएका छन् । उनले आफूलाई रोक्न खोज्ने जो-कोहीमाथि पनि आक्रमण गर्ने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ । स्थानीय गभर्नरले नागरिकलाई घरभित्रै रहन भनेका छन् ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने बताएका छन् । उनले रूसी सेनालाई विद्रोही समूहविरूद्ध युद्ध सुरू गर्न निर्देशन दिइसकेको पनि बताए ।
मस्कोसहितका सहरमा प्रतिआतङ्कवाद कानुन लागू भएको छ । मस्कोमा सबै सामाजिक कार्यक्रम रद्द गरिएका छन् ।





