काठमाडौँ, ३० फागुन । रुसले अप्रशोधित पेट्रोलियम पदार्थ आयात गरे भारतलाई विशेष छुटको प्रस्ताव गरेको छ । भारतले वार्षिक रुपमा आयात गर्ने ८० प्रतिशत अप्रशोधित पेट्रोलियम पदार्थ मध्ये लगभग ३ प्रतिशत मात्र रुसबाट आयात गर्दै आएको छ ।
युक्रेनमा भएको आक्रमण पछि युरोप र अमेरिकाले रुस विरुद्ध आर्थिकलगायतका क्षेत्रमा प्रतिवन्ध लगाएको छ । अमेरिका र युरोपीय देशले रुसलाई बैंकिंग प्रणालीको स्वीफ्ट कोडबाट हटाएका छन् । स्वीफ्ट कोडबाट हटाउँदा रुसको अन्तर्राष्ट्रिय कारोबार प्रभावित भएको छ । रुस आर्थिक रुपमा चौतर्फी घेराबन्दीमा पर्दै गएपछि अप्रशोधित पेट्रोलियम पदार्थमा विशेष छुटको प्रस्ताव गरेको हो ।
रुससँगै बेलारुसलाई पनि आर्थिक प्रतिवन्ध लगाइएको छ । भारतलाई रुस र बेलारुसले पनि सस्तोमा रासायनिक मल लगायतका सामग्री दिने प्रस्ताव गरेका छन् । रुसले भारतीय रुपैयाँ र रुवलमा कारोबार गर्ने प्रस्ताव गरेको छ । भारत र रुसका अधिकारीबीच तेल आयात सम्बन्धी छलफल प्रारम्भ भएको छ ।
रुस र युक्रेनबीचको युद्धले अप्रशोधित पेट्रोलियम पदार्थमा ४० प्रतिशत भन्दा बढी मूल्य बृद्धि भएको छ । भारत चालु आर्थिक वर्षमा ५० बिलियन डलरको अप्रशोधित पेट्रोलियम पदार्थ आयात गर्ने सम्भावना रहेको छ ।
पेट्रोलियम पदार्थको लगातार बढेको मूल्य बृद्धिले भारतीय सरकार आर्थिक दबाब परेका नै त्यसले महंगी पनि बढाएको छ । नागरिकमा असन्तोष बढ्दै गएको अवस्थामा सस्तोमा तेल पाए ल्याउने सोँचमा भारत सरकार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।