Logo

रुसद्वारा युद्धविरोधी सयौँ प्रदर्शनकारी गिरफ्तार



रुस, ६ असोज । युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको छ ।

रुसी मानवअधिकार समूह ओभीडी-इन्फोले कुल एक हजारभन्दा बढी मानिसहरू पक्राउ परेको बताएको छ ।

सेन्ट पिटर्सबर्ग र मस्कोमा सबैभन्दा धेरै पक्राउ परेका छन् । इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा दर्जनौँ प्रदर्शनहरू भएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानका टिकटहरूको तीव्र रूपमा बिक्री भएको छ । पुटिनले आंशिक रूपमा सेना परिचालनको आदेश दिएका छन् ।

उक्त आदेशसँगै हाल जगेडामा राखिएका करिब तीन लाख सैनिकहरूलाई युक्रेनी युद्धभूमिमा हालै रुसी सेनाले बेहोरिरहेको प्रत्याक्रमणको प्रतिरक्षामा प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्