रुस, ३० साउन । रुसको दक्षिणी क्षेत्र डागेस्तानको एउटा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । घटनामा ६० जनाभन्दा धेरै घाइते भएका छन् ।
रुसी अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमा केही बालबालिका समेत रहेका छन् ।
ज्यान गुमाउनेको सङ्ख्या २५ जनाभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ । तर आधिकारिक पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । आगोमा जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि राजधानी मस्को लगिएको छ ।
विस्फोटपछि पेट्रोल पम्पमा आगलागी भएको थियो । क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण अहिलेसम्म खुल्न सकेको छैन । सयौँको सङ्ख्यामा अग्नि नियन्त्रक परिचालन गरी आगो नियन्त्रणमा लिइएको छ ।







