Logo

रुसमा १ सय ६७ जना बोकेको विमान खेतमै आकस्मिक अवतरण



रुस, २६ भदौ । दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एअरबस ३२० आज साइबेरियाको खेतमा आपत्कालीन अवतरण गरिएको छ ।

रुसी अधिकारीहरूले नोवोसिबिर्स्क क्षेत्रको जङ्गल नजिक रहेको एक मैदानमा उरल एअरलाइन्सको एअरबस ३२० विमानलाई चालक दलका सदस्यले आपत्कालीन अवतरण गरेका जनाउँदै विमानमा रहेका सबै जना सकुशल रहेका बताएका छन् ।

‘सोची-ओम्स्क रुटमा उडिरहेको उराल एअरलाइन्सको एअरबस ३२० विमानको आपत्कालीन अवतरण सफलतापूर्वक सम्पन्न भयो । सबै यात्रीलाई नजिकैको गाउँमा राखिएको छ । उनीहरूमध्ये कसैलाई पनि चिकित्सा सहायता आवश्यक परेको छैन’, मस्कोको नागरिक उड्डयन निकाय रोजाभिएट्सियाले एक विज्ञप्ति निकालेर भनेको छ ।

रुसको अनुसन्धान समितिले हवाई ट्राफिक सुरक्षा नियम उल्लङ्घन गरेकोमा उरल एअरलाइन्सविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको छ । समितिका अधिकारीहरूले विमान अवतरण गरिएको ठाउँको प्रारम्भिक अनुसन्धान थालिसकेका छन् ।

विमान कम्पनी उरल एअरलाइन्सले भने प्राविधिक समस्याका कारण आपत्कालीन अवतरण गरेको बताएको छ । उरल एअरलाइन्स येकातेरिनबर्ग शहरमा प्रधान कार्यालय रहेको रुसको आन्तरिक विमान सेवा कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्