Logo

रुसलाई सैन्य र आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी



काठमाडौँ, ३० फागुन । अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ । रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीले विभिन्न पत्रिकालाई बताएका छन् । तर, चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए ।

प्रतिबन्ध छल्ने कोसिस
अमेरिकाले रुसलाई थप आर्थिक मद्दत नगर्न चीनलाई चेतावनी दिएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने बताएका छन् । सोमवार उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन् ।

फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङसँग त्यस्तो मद्दत मागेको थियो । तर, विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन । ती विवरणमा चीनले मद्दतको तयारी गरिरहेको पनि उल्लेख गरिएको छ ।

चीनको प्रतिक्रिया
वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए ।

हालसम्म चीनले रुस(युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । तर, उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन । रुसलाई पश्चिमा प्रतिबन्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् ।

जेलेन्स्कीले नेटोलाई पुनः गरे अनुरोध
यसबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुनः नेटोलाई उनको देशको आकाशमाथि उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आह्वान गरेका छन् । उनले अब रुसले केही समयमै उक्त पश्चिमा सैन्य गठबन्धनका सदस्य देशलाई पनि निसानामा पार्ने बताए ।

युक्रेनको पोल्यान्डसँगको सिमाना क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा ३५ जनाको ज्यान गएपछि जेलेन्स्कीले उक्त टिप्पणी गरेका हुन् । पोल्यान्ड नेटो सदस्य राष्ट्र हो ।

साथै जेलेन्स्कीले आफूले युरोपेली परिषद् अध्यक्ष चार्ल्स मिसेलसँग कुरा गरेको र अब युक्रेन ईयूको सदस्य हुने विषय वास्तविकता हुन लागेको पनि बताए । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्