रुस, ९ असार । रुसले इन्धन निर्यातमा कटौती गरेपछि युरोपेली युनियनका १० वटा देश प्रभावित भएका छन् ।
युक्रेनमा आक्रमण गरेबापत युरोपेली युनियनका देशले रुसमा आर्थिक प्रतिबन्ध लगाएपछि रुसले पनि इन्धन निर्यातमा कटौती गरेको छ ।
विशेषगरी रुसले ग्यास निर्यातमा कटौती गर्दा १० वटा देशले प्रारम्भिक चेतावनी जारी गरेका ईयूका जलवायु नीति प्रमुख फ्रान्स टिमरम्यान्सले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
जर्मनीले आज मात्रै दोस्रो चेतावनी जारी गरेको छ । जर्मनी एक तिहाइभन्दा धेरै ग्यासका लागि रुसमा निर्भर रहेको छ । युरोपमा इन्धन अभावका कारण प्रारम्भिक चेतावनी, चेतावनी र आपत्कालीन चेतावनी गरेर तीन चरणमा चेतावनी जारी गरिन्छ ।
रुसले पोल्यान्ड, बुल्गेरिया, नेदरल्यान्ड्स, डेनमार्क र फिनल्यान्डलाई रुसकै मुद्रा रुबलमा भुक्तानी गर्न भन्दै पहिले नै ग्यास कटौती गरिसकेको छ । गएको हप्ता नर्ड स्ट्रिम १ पाइपलाइनबाट हुने निर्यातमा रुसले ४० प्रतिशत कटौती गरेपछि अभाव झनै बढेको खबरमा उल्लेख छ ।