युक्रेन, २० जेठ । रुसले युक्रेनमा आक्रमण थालेको आज सय दिन पुगेको छ ।
रुसले गएको फेब्रुअरी २४ तारिख अर्थात फागुन १२ गतेदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो । रुसी सेनाले युक्रेनमा जल, थल र आकास तीन तिरबाटै आक्रमण गर्दै आएको छ ।
रुसले लामो समयदेखि युरोपेली सङ्घ र पश्चिमी देशहरूको रक्षात्मक सैन्य गठबन्धन नेटोतर्फ युक्रेनले बढाएको कदमको विरोध गर्दै आएको छ । ४ करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली देश युक्रेनमा अहिलेसम्म हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् ।
संयुक्त राष्ट्र सङ्घका अनुसार झण्डै डेढ करोड युक्रेनी घर छाड्न बाध्य भएकोमा ६८ लाखले देश नै छाडेर विस्थापित भएका छन् । भौतिक संरचना पनि ध्वस्त भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भू-भाग रुसी फौजको नियन्त्रणमा पुगेको बताएका छन् ।