काठमाडौं, २ मंसिर । रुसले युक्रेनमाथि सेप्टेम्बर महिनापछिकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । गएराति रुसले युक्रेनका कैयौं ठाउँमा मिसाइल र ड्रोन प्रहार गरेको बीबीसीले जनाएको छ ।
यो आक्रमणमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै जेनेरेटर र ट्रान्समिसन स्टेशनलाई निशाना बनाएको छ । यसले गर्दा धेरै ठाउँ बिजुलीविहीन बनेका छन् । रुसी आक्रमणका कारण राजधानी किभसहित तीन वटा क्षेत्रमा बिजुली सेवा अवरुद्ध भएको युक्रेनको सबैभन्दा ठूलो ऊर्जा प्रदायकले जनाएको खबरमा उल्लेख छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले १ सय २० वटा मिसाइल र ९० वाट ड्रोन आक्रमण गरेको बताउनुभएको खबरमा उल्लेख छ । युक्रेनको आपत्कालीन सेवाका अनुसार रुसी आक्रमणमा दुई जना महिलाको ज्यान गएको छ भने दुई बालबालिकासहित ६ जना घाइते भएका छन् ।
मिकोलेभका गभर्नरले आगलागीका कारण आवासीय भवन, अग्ला भवन, कार, शपिङ सेन्टर र पूर्वाधारमा क्षति पुगेको बताएका छन् ।