काठमाडौँ, ३० जेठ । चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्काले रुससँग इन्धन किन्न आफू बाध्य हुनसक्ने बताएको छ ।
एसोसिएटेड प्रेस(एपी)सँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै रूसी तेल खरिद गर्न आफू खुला रहेको बताएका छन् ।
युक्रेन आक्रमणको विरोधमा पश्चिमा देशले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिङ्घेले रुसी तेल किन्न आफू खुला रहेको बताएका हुन् ।
बाह्य ऋण बढिरहेको भए पनि उनले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताएका छन् । आफ्नै कारणले आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कालाई युक्रेन युद्धले अझ प्रभावित पारेको बताउँदै आफ्नो देशले आउँदो दुई वर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नुपर्ने सम्भावित परिस्थितिप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।