Logo

रुसी सेनामा भर्ती हुन गएका थप तीन नेपालीको ज्यान गएको पुष्टि



काठमाडौँ, १७ पुस । रुसी सेनामा भर्ती हुन गएका थप तीन जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।

स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका-१४ का हरिप्रसाद अर्याल गएको कात्तिक ३ गते मात्रै रुस गएका थिए । अर्यालको मृत्यु भएको विषय वडा कार्यालय र परिवारलाई सरकारी संयन्त्रले जानकारी गराएको छ । योसँगै रुस-युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ ।

परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ गतेसम्ममा ज्यान गुमाउने नेपालीको सङ्ख्या सात जना पुगेको जनाएको थियो । यसअघि ज्यान गुमाउनेमा स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, इलाम-५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका-६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा-१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।

यस्तै रुसी फौजमा भर्ना भएका चार जना नेपालीलाई युक्रेनी सेनाले कब्जामा लिएको भन्दै उद्धारका लागि परराष्ट्र मन्त्रालयमा गुनासो पुगेको छ । सरकारले नेपालीको रिहाइका लागि युक्रेन सरकारसँग कुराकानीको प्रयास भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्