रुस, ४ साउन । युक्रेनमा रुसको सैन्य लक्ष्य ‘केवल’ पूर्वमा मात्र केन्द्रित नरहने रुसले जनाएको छ ।
विदेशमन्त्री सर्गेई लाभरोभले भने, ‘पश्चिमी हतियारको आपूर्तिले क्रेमलिनको अपेक्षामा परिवर्तन आएको छ । लाभरोभले राज्य सञ्चालित एक सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा भने, ‘अहिले भूगोल फरक छ । यो डोनेट्स्क पिपुल्स रिपब्लिक (डीएनआर) र लुगान्स्क पिपुल्स रिपब्लिक (एलएनआर) को बारेमा मात्र नभइ खर्सन क्षेत्र, जापोरिज्हिया क्षेत्र र अन्य धेरै क्षेत्रहरूको बारेमा पनि हो । यो प्रक्रिया निरन्तर रूपमा चलिरहेको छ ।’
मस्को समर्थकको बाहुल्यता रहेको डोनेट्स्क र लुगान्स्क पूर्वी युक्रेनमा छन् । रुसी सेनाहरूले दक्षिणी खर्सन क्षेत्र र दक्षिणपूर्वी क्षेत्र जापोरिज्हियाका केही भागहरूलाई पनि नियन्त्रण गरिसकेका छन् ।
लाभरोभका अनुसार मस्कोको लक्ष्य युक्रेनलाई ‘नाजी र सैन्य’ मुक्त बनाउने पूरानो नै रहेको भए पनि मार्च २०२२ मा मस्को र कीभबीच इस्तानबुल वार्ता भएदेखि ‘भूगोल’ परिवर्तन भएको छ ।
रुसी विदेशमन्त्री लाभरोभले भने, ‘किएभलाई अमेरिका निर्मित हिमार्स क्षेप्यास्त्र प्रणालीलगायत पश्चिमी हतियारहरूको आपूर्तिपछि मस्कोले आफ्नो योजनाहरूको पुनरावलोकन गरेको छ । यदि पश्चिमले युक्रेनलाई हतियार आपूर्ति गरिरह्यो भने रुसको भौगोलिक लक्ष्य वर्तमान रेखाबाट अझ टाढा जानेछ ।’