रुस, २३ कात्तिक । रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मंगलबार पनि पुन: दोहोर्याएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलोले इटालीको एक दैनिक पत्रिका ला रिपब्लिाकालाई दिएको अन्तर्वार्तामा युक्रेन रुससँग वार्तामा बस्नका लागि पनि उसका सबै सेनाको फिर्ती पहिलो सर्त रहेको बताएका हुन् ।
हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुरुपयोग गर्न सक्ने भन्दै सल्लाहकार मिखाइलोले यदि रुससँग वार्ता गर्ने हो भने त्यस अगावै उसले आफ्ना सबै सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने बताए ।
हालैमात्र युक्रेनका विषयमा संयुक्त राज्य अमेरिका र रुसका रक्षामन्त्रीका बीचमा कुराकानी भइरहेको भन्ने समाचारको पनि उनले सो अन्तर्वार्तामा खण्डन गरेका छन् ।
उनले युक्रेनको विषयलाई लिएर अहिले रुस र कुनै पनि पश्चिमा देशसँग छलफल र निर्णय नभएको पनि स्पष्ट पारेका छन् ।







