Logo

रुस जान ‘एनओसी’ अनिवार्य



काठमाडौँ, ११ पुस । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाऊन् भन्नका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) को प्रबन्ध गरिएको बताएका छन् ।

उनले दक्षिण एसियाको भारत, बङ्गलादेश र श्रीलङ्का तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाइएको बताए । रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको छ । यसबाहेक करिब एक सय जना हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको उनले बताए ।

“हराइरहेकाहरूको परिवार र साथीभाइले खबर गरेका छन् । यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासो रुसी सरकारसम्म पु(याउन स्पष्ट सन्देश दिएका छौँ,” परराष्ट्रमन्त्री साउदले भने । मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानव अधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्पे्रषण गरिएको पनि उनले बताए ।

प्यालेस्टाइनी समूहको अपहरणमा पर्नुभएका विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई आफैँले भेटेर पहल गरिदिन आग्रह गरिएको पनि जानकारी दिँदै उनले भने, “अहिलेसम्मको विवरण अनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ । आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुने छौँ भन्ने मेरो दृढ विश्वास छ ।”

गत वर्ष भएको प्रतिनिधि सभाको निर्वाचनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा वर्तमान सरकार गठन भएपछि नेपालले छिमेकीसँगको सम्बन्ध, कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सन्तुलन र परिपक्व व्यवहार प्रदर्शन भएको नेपाली कांग्रेसका नेतासमेत रहेका परराष्ट्रमन्त्री साउदले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्