Logo

रुस नियन्त्रित बस्तीहरू पुन: युक्रेनी कब्जामा



युक्रेन, २३ भदौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गर्दै त्यसलाई ‘सुखद समाचार’को संज्ञा दिएका छन् ।

जेलेन्स्कीले कुन ठाउँहरू पुन: आफूले कब्जा गरेको भन्नेबारे जानकारी दिएनन् । उनले भने,’अहिले ती ठाउँहरूको नाम भन्ने सही समय होइन ।’

पूर्वी खार्किभ क्षेत्रमा सम्भावित सफलताको बारेमा केही दिनदेखि चर्चा भइरहेको छ तर युक्रेनी अधिकारीहरूले यसबारे कुनै जानकारी दिएका छैनन् ।

अमेरिकी अधिकारीहरूले भने युक्रेनले रुसी सेनाहरू विरुद्ध ‘विस्तारै तर अर्थपूर्ण प्रगति’ गरिरहेको बताएका छन् ।

राति प्रसारण भएको भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने,’मलाई लाग्छ कि हरेक नागरिकले हाम्रा सेना प्रति गर्व महसुस गर्छन् ।’

सम्बोधनको क्रममा उनले विशिष्ट सैन्य एकाइहरूको नाम लिए र लडाइँमा उनीहरूले देखाएको बहादुरीको प्रशंसा गरे ।

युक्रेनले पछिल्ला साताहरूमा पूर्व र दक्षिणमा धेरैले अपेक्षा गरेको प्रत्याक्रमणको बारेमा केही विवरण सार्वजनिक गर्दै आफ्नो सैन्य परिचालनको बन्दोबस्तीलाई कडा पारेको छ ।

युक्रेनी सैनिकहरूले खार्किभको दक्षिण-पूर्वमा, डोनेट्स्कको पूर्वी क्षेत्रतर्फ आक्रमण सुरु गरेका छन् । ती क्षेत्रमा ६ महिना अघि युद्ध सुरु भएदेखि रुसले पर्याप्त सैन्य नियन्त्रण कायम राखेको छ ।

केही विवरणहरूका अनुसार युक्रेनी सेना इज्युम सहरबाट केही किलोमिटर टाढा हुन सक्छन् । उक्त सहर रुसको सैन्य आपूर्ति शृङ्खला जोड्ने महत्त्वपूर्ण स्थान हो ।

प्रतिक्रिया दिनुहोस्