Logo

रुस-युक्रेन युद्धमा पूर्व ब्रिटिश सैनिक मारिए



काठमाडौँ, ३० जेठ । युक्रेनमा जारी लडाइँमा एक जना पूर्व ब्रिटिश सैनिक जोर्डन गेट्ली पूर्वी युक्रेनको सेभेरोडोनेट्स्कमा रुससँगको भीषण लडाइँमा मारिएका छन् । एक महिना ब्रिटिश सेना छाडेका जोर्डन युक्रेनको पक्षमा लड्दालड्दै ज्यान गुमाउने दोस्रो ब्रिटिश नागरिक हुन् । यसअघि स्कट सिब्लीको गएको एप्रिलमा ज्यान गुमाएका थिए ।

फेसबुकमा उनका पिताले जोर्डनको मृत्यु भएको पुष्टी गरेका छन् । उनले युक्रेनमाथिको रुसी हमलाको प्रतिरोधमा जोर्डनले स्थानीय फौजहरूलाई तालिम दिएको बताए । उनले सेभेरोडोनेट्स्कको प्रतिरक्षामा अग्रमोर्चामा लड्दालड्दै आफ्नो छोराले ज्यान गुमाएको बताए । उनको परिवारले जोर्डन ‘नायक भएको र सदैव हृदयमा रहने’ जनाएका छन् ।

रुसी पकड बलियो बन्दै
यसैबीच रुसी फौजहरूले पूर्वी युक्रेनको सेभेरोडोनेट्स्क सहरमा आफ्नो पकड बिस्तारै बलियो बनाउँदै लगेको यूकेको रक्षा मन्त्रालयले जनाएको छ । त्यहाँ घेराबन्दीमा परेको एउटा रासायनिक उद्योगमा बङ्करहरूमा सयौँ गैरसैनिकहरूले आश्रय लिइरहेका विवरण आएका छन् । उनका अनुसार अन्तिम पुल भीषण गोलाबारीमा परिरहेको छ ।

हप्तौँदेखि ठूलो लडाइँको केन्द्रमा एजोट रासायनिक उद्योग रहेको छ । गभर्नर हाइडाईले हालसम्म ज्यान गुमाएका मानिसहरूको सङ्ख्या यकिन गर्न नसकिएको बताएका छन् ।

पश्चिम युक्रेनका अधिकारीहरूले छोर्टकिभमा गरिएको क्षेप्यास्त्र आक्रमणमा २० जनाभन्दा बढी घाइते भएको जनाएका थिए । रुसी रक्षा मन्त्रालयले पश्चिमा देशहरूले दिएको अस्त्र भण्डारलाई ब्ल्याक सीमा रहेको आफ्नो युद्धपोतद्वारा प्रहार गरिएको क्षेप्यास्त्रले निशाना बनाएको बताएको छ ।

यूकेको रक्षा मन्त्रालयले के भन्यो
यूकेको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो अद्यावधिक विवरणमा रुस सञ्चार र गोलाबारीमा बलियो देखिएको भन्दै उसले सेभेरोडोनेट्स्क क्षेत्रमा भूभागहरू कब्जा गर्दै आफूलाई बलियो बनाउँदै लगेको उल्लेख गरिएको छ ।

त्यसमा रुसले युक्रेनमा तैनाथ हुने फौजी युनिटहरू थप्ने प्रयासहरू अघि बढाएको पनि जनाइएको छ । हालैका हप्तामा रुसले तेश्रो सैनिक बटालियन परिचालन गर्ने तयारी अघि बढाएको भनिएको छ ।

लुहान्स्क क्षेत्रका गभर्नर हाइडाईले सेभेरोडोनेट्स्कको अवस्था एकदमै जटिल रहेको र अबको दुई दिन निर्णायक हुने बताएका छन् । उनले अहिलेसम्म रुसी फौजहरूले सहरमा नियन्त्रण कायम गर्न नसकेको बताए । उनका अनुसार उक्त सहरसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद गर्न रुसले चाहेको छ ।

मानिसहरूलाई त्यहाँबाट बाहिर लैजान नसकियोस् र थप अस्त्र तथा सुरक्षाकर्मी ल्याउन नमिलोस् भन्ने उद्देश्यले त्यसो गर्न खोजिएको उनले बताए । उनले रुसले तयार राखेका आफ्ना सबै सैनिक परिचालन गरेर तत्काल सेभेरोडोनेट्स्क नियन्त्रणमा लिन सक्ने बताए ।

यसैबीच रुसी रक्षा मन्त्रालयले आफूले किएभलाई अमेरिका र युरोपेली देशहरूले उपलब्ध गराएका ट्याङ्कलाई नष्ट गर्न सक्ने क्षमता भएको क्षेप्यास्त्र प्रणाली र अरू अस्त्रहरू राखिएको एउटा भण्डार नष्ट गरिदिएको जनाएको छ ।

युक्रेनले पश्चिमा जगतलाई देशको पूर्वमा जारी रुसी आक्रमणहरूलाई निस्तेज तुल्याउन भारी हतियारहरू उपलब्ध गराउन माग गरेको छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्