काठमाडौँ, २ असार । संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धी एजेन्सी युएनएचसीआरले रुस-युक्रेन युद्धका कारण विश्वका थप कयौँ देशहरु गरिबीतिर जाने अनुमान गरेको छ ।
युएनएचसीआरका प्रमुख फिलिप्पो ग्राण्डीले विश्वव्यापी खाद्य सुरक्षा संकट तथा कयौँ मानिसहरु विस्थापित हुने जोखिम बढेको बताए । उनले विश्वभर विस्थापितहरुको संख्या रेकर्ड स्तरमा बढ्ने बताए ।
संयुक्त राष्ट्र संघको एक रिपोर्टअनुसार सन् २०२१ को अन्तमा उत्पीडन, संघर्ष, दुव्र्यवहार तथा हिंसाका कारण संसारभरका झण्डै ९ करोड मानिस विस्थापित भएका छन् । त्यसयता युक्रेनमा सुरु भएको युद्धले लाखौँ मानिस भाग्न बाध्य भएका छन् ।
युक्रेन युद्धले निम्त्याएको खाद्य संकटले विश्वका थप लाखौँ मानिस विस्थापित हुने युएनएचसीआरको दाबी छ। एक पत्रकार सम्मेलनमा ग्राण्डीले रुस-युक्रेन युद्धको कुनै न कुनै प्रभाव हरेक व्यक्तिको घरसम्म पुग्ने बताए ।
युद्धका कारण विश्वव्यापी रुपमा इन्धन तथा खाद्य संकट उत्पन्न भइसकेको छ । संकट बढेसँगै उपभोग्य वस्तुको मूल्य आकाशिएको छ भने कम आयस्रोत भएका व्यक्तिहरुको दैनिकी कष्टकर हुँदै गएको छ ।