बैतडी, ४ फागुन । रूखले च्यापिएर बैतडीमा एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा जिल्लाको पाटन नगरपालिका-५ अडतोलाका १९ वर्षीय प्रकाश पाण्डेय रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । घर नजिकै रहेको जंगलमा सल्लाको रूख काटिरहेका प्रकाशलाई रूखले च्यापेको थियो ।
बिहान ११ बजे रूखले च्यापिएर घाइते भएका प्रकाशलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । प्रकाशको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट रहेको थियो । मृतकको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।






