Logo

रेकर्डपछि ठूलो करेक्सन: सुन तोलामा २० हजारभन्दा बढी घट्यो, चाँदी पनि ओरालो



काठमाडौं, १६ माघ । लगातार नयाँ कीर्तिमान बनाउँदै आएको सुनचाँदीको मूल्य आज एकाएक ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले घट्दै तीन लाख १८ हजार ८ सय रुपैयाँमा झरेको छ।

हिजो मात्रै सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेर तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च स्तर हो। एकै दिनमै यति ठूलो गिरावट आउनुलाई बजार विश्लेषकहरूले “मूल्य करेक्सन” का रूपमा हेरेका छन्।

पछिल्लो एक सातामा सुनको भाउ तोलामा ५७ हजार ५ सय रुपैयाँले उकालो लागेको थियो। विभिन्न दिनमा लगातार वृद्धि हुँदै आएको मूल्य आज भने व्यापक रूपमा घटेको हो।

चाँदीको मूल्यमा पनि आज उल्लेखनीय गिरावट देखिएको छ। प्रतितोला ४ सय ४० रुपैयाँ घट्दै चाँदी सात हजार ६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो मात्रै चाँदी सात हजार ५ सय ५ रुपैयाँ पुगेर ऐतिहासिक उच्च विन्दुमा पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन करिब ५ हजार ५ सय ३७ अमेरिकी डलर र चाँदी १ सय १७ डलर आसपास कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्