
काठमाडौँ, १४ जेठ । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले ५० प्रतिशत सजाय कटाइ सजाय माफी मिनाहको निवेदन दिएका रेशम चौधरी लगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफी मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे गणतन्त्र दिवसका दिन भोलि चौधरीले आममाफी पाउने छन् ।
२०७२ साल भदौमा थरूहट थारूवानले कैलालीको टीकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा सात जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी २०७४ फागुन १५ गतेदेखि थुनामा छन् ।







