काठमाडौँ, ११ पुस । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेतालाई कारागार डाकेका छन् ।
चौधरीले सोमबार पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, निर्वाचित सांसदसहितका शीर्ष नेतालाई डिल्लीबजारस्थित कारागारमा छलफलका लागि बोलाएका हुन् ।
पार्टीका प्रवक्ता दामोदर पण्डितले संघीय सरकार र प्रदेश सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल गर्न आफूहरू डिल्लीबजार कारागार जान लागेको जानकारी दिए ।
‘हाम्रो पार्टीको संस्थापक एवं अभिभावक उहाँले कारागारमा बोलाउनुभएको छ’, उनले भने, ‘उहाँको निर्देशनअनुसार सरकारमा सहभागी हुने विषयमा अघि बढ्छौँ’ पण्डितले भने, ‘अहिलेकै समीकरणमा संघ र प्रदेशमा कसरी जाने भन्ने कुरा दिउँसोसम्म थाहा हुन्छ। हाम्रा केही शर्त र माग छन् । ती पूरा हुने अवस्था आएमा हामी सरकारमा जाने स्थिति बन्ला ।’
आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात दलीय छलफलमा रेशम संस्थापक रहेको उन्मुक्ति पार्टी पनि सहभागी थियो । उन्मुक्तिकी केन्द्रीय अध्यक्ष चौधरी बालकोट छलफलमा सहभागी भएकी थिइन् ।
उक्त छलफलपछि सरकारमा सहभागी हुन सहमति दिएको उन्मुक्ति पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको थियो ।







