
झापा, २५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजलाई चाहिने रैथाने विश्वविद्यालय स्थापना गर्नु आवश्यक भएको औँल्याएका छन् ।
उनान्तिसौँ विश्व आदिवासी दिवसका अवसरमा बुधवार झापाको कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालामा जिल्लास्तरीय आदिवासी समारोहमा उनले सरकारले रैथाने विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिसकेको बताए ।
विकासका नाममा इतिहास र संस्कृति नामेट गर्नुभन्दा त्यस्ता प्राचीन र संस्कृतिमूलक सम्पदा र संस्कृतिको खोजी गरी त्यसैबाट नयाँ नेपाल सम्भव हुने उनको भनाइ थियो ।
पुरानो गाउँको खोजी गरिएको उल्लेख गर्दै उनले अब त्यस्ता रैथाने सांस्कृतिक गाउँ र सम्पदालाई संरक्षण र संवर्द्धन गरी त्यसैबाट सारा विश्वका पर्यटकलाई भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको बताए ।
उनले भने, “हाम्रो विकास, राजनीति विदेशीको नक्कल होइन आफ्नै मोडालिटी, नेपालीपन भएमात्र देशमा समृद्धि सम्भव हुनेछ, यसमा यो सरकार प्रतिबद्ध छ ।” देशमा राजनीतिक परिवर्तन भए पनि विकासको परिवर्तन खासै हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले अव विकाससँगै भ्रष्टचार, घुसखोरी समाप्त गर्न सरकार प्रतिबद्ध भएको स्पष्ट पारे ।
राणा, पञ्चायतदेखि लोकतान्त्रिक राज्यव्यवस्था परिवर्तनका लागि देशका आदिवासी जनजातिले उल्लेखीय योगदान पु¥याएको चर्चा गर्दै उनले तर ती जातिलाई राज्यको मूल प्रवाहमा अझै समेट्न नसकिएको उल्लेख गरे ।
सो अवसरमा आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानले जग्गाको भोगाधिकारसहित रङ्गशाला निर्माणमा बजेटको व्यवस्था गरिदिन मन्त्री किरातीसमक्ष प्रतिष्ठानका कार्यवाहक अध्यक्ष दिपेनवाला राईले ज्ञापनपत्र बुझाएका थिए ।







