Logo

रोकियो ‘भारत गौरव पर्यटक रेल’ धार्मिक यात्रा



जनकपुरधाम, ११ भदौ । भारतीय पर्यटक बोकेर आज दोस्रो पटक जनकपुरधाम आउने भनिएको ‘भारत गौरव पर्यटक रेल’ सेवा अन्तिम समयमा स्थगन भएको छ ।

भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो रेलमार्फत हुने जनकपुरधामको धार्मिक यात्रा अन्तिम समयमा प्राविधिक कारण देखाउँदै भारतीय रेल्वे कम्पनीले स्थगन गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले जानकारी दिए ।

जयनगर-कुर्था रेलमार्गमा नियमित रेल सेवा सञ्चालन भएपछि दोस्रोपटक ठूलो सङ्ख्यामा भारतीय पर्यटक लिएर आज दिउँसो जनकपुरधाम आउने कार्यक्रम थियो ।

भारतको राजधानी नयाँदिल्लीलगायतका सहरबाट भारतीय पर्यटकलाई जनकपुरधामसम्मको यात्रा गराउने सो रेलमा लक्ष्यानुसारको टिकट बिक्री नभएको लगायतका प्राविधिक कारण देखाउँदै सोबाट हुने भनिएको जनकपुरधामको धार्मिक यात्रा भारतीय रेल्वे कम्पनीले स्थगन गरेको महाप्रबन्धक झाले बताए ।

भारतीय पर्यटकको धार्मिक यात्राले जनकपुरधामको धार्मिक, सांस्कृति र आर्थिक विकासमा टेवा पुगिरहेकाले यस्तै प्रकारको धार्मिकयात्राका लागि निरन्तर पहल जारी राख्ने उनको भनाइ थियो । रामायण सर्किटमा सञ्चालन हुने उक्त ‘भारत गौरव पर्यटक रेल’ सेवामार्फत पहिलोपटक गत असार ९ गते करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्