Logo

रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौँ : प्रधानमन्त्री ओली



काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताउनुभएको छ।

सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्व वृद्धि गरेर न्यायोचित वितरण गर्न आफूहरूले नयाँ ढङ्गले काम गरिरहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले आफ्नै समयमा देशमा परिवर्तन  ल्याउनुपर्ने भएकाले परिवर्तनको भार भावी सन्ततिलाई जिम्मा नदिने बरु त्यसको अनुभूति दिने बताउनुभयो।

नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले एमाले गफ गर्ने भन्दा काममा विश्वास गर्ने पार्टी भएकाले जिफन्टकै अग्रसरतामा मुलुकमा सफल मजदुर आन्दोलन भएको र सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन प्रेरणा मिलेको बताउनुभयो। उहाँले सामाजिक सुरक्षा कार्यक्रम थालनी भएको सात वर्षमा उल्लेख्य काम भएको र आगामी एक वर्षभित्र सामाजिक सुरक्षा कार्यक्रमको अवस्थामा अहिलेको भन्दा प्रगति भएको अवस्था हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्