साउदी, २७ साउन । कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को च्याम्पियन बनेको छ ।
साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २-१ को पूनरागमन जित निकाल्दै १० खेलाडीमा समेटिएको अल नासर च्याम्पियन बनेको हो ।
अल नासरलाई च्याम्पियन बनाउन कप्तान रोनाल्डोले दुई गोल गरे । अल हिलालका माइकलको गोल सान्त्वना बन्यो । किङ पाद स्टेडियम साउदीमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५१औं मिनेटमा माइकलको गोलबाट अल नासर खेलमा पछि परेको थियो । उनले माल्कोमको पासमा गोल गर्न सफल भएका थिए ।
७१औं मिनेटमा अल नासर १० खेलाडीमा समेटिदा टोली थप समस्यामा पर्यो । अब्दुल्लाह अल एम्री सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर, १० खेलाडीमा समेटिएको अल नासरका लागि ७४औ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । उनले सुल्तान अल घनामको पासलाई सदुपयोग गरेका थिए ।
७८औं मिनेटमा अल नासरका अल बोउसेल पिच बाहिर नवाफ पनि रातो कार्ड खाँदै बाहिरिएका थिए । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो । ९८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २-१ को पूनरागमन जितसहित च्याम्पियन बनाएका हुन् ।