रोल्पा, २५ साउन । बितेको तीन वर्षमा रोल्पा जिल्लाबाट महिला र बालबालिका गरी ७८ जना हराएका छन् ।
हराउनेमा १८ बालबालिका र ६० महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ४२ महिला र १८ बालबालिका फेला परेका छन् भने अझै एक ज्येष्ठ नागरिकसहित १८ जना हराइरहेका छन ।
जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २६ महिला, चार बालबालिका हराएका थिए । यसरी हराएका महिला बालबालिकामध्ये २६ जना मात्रै फेला परेका छन् ।
सो वर्ष हराएका चारजना भेटिएनन् । आर्थिक वर्ष २०७७/७९ मा हराएका ४८ जनामध्ये ३४ जना फेला परे भने १४ जना फेला पर्न सकेनन् । अघिल्लो आर्थिक वर्षमा ३५ महिला, बालबालिका हराए । यसरी हराएकामध्ये २९ जना मात्रै फेला परे । बाँकी ६ जना अझै फेला पर्न सकेका छैनन् ।
हराएकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी कार्य गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज जितु बुढाथोकीले बताए ।
“हुलियाकै आधारमा प्रहरीले हराएकालाई फेला पार्ने गरेको छ”, बुढाथोकीले भने । हराएकामध्ये ठूलो सङ्ख्याका महिला तथा बालबालिकालाई प्रहरीले काठमाडौँका इँटा भट्टामा फेला पार्ने गरेको छ ।






