Logo

रोहितको शतकमा यूएईलाई २३४ रनको लक्ष्य



काठमाडौं, १३ कार्तिक । आईसीसी पुरुष क्रिकेट विश्वपक लिग २ को यूएईविरुद्धको खेलमा नेपालले २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दुबईमा जारी खेलमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको हो।

खेलमा रोहित पौडेलले कप्तानी पारी खेले। १२६ बलमा सय रन पूरा गरेका उनले १०९ रन बनाए। कुल १२९ बलको सामना गरेका उनी जाहिद अलीको बलमा क्याचआउट भए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालको सुरुवात त्यति उत्साहप्रद हुन सकेन।

ओपनर कुशल भुर्तेल सात रनमै आउट हुँदा अर्का ओपनर आसिफ शेखले ३५ रन जोडे। त्यसैगरी भीम सार्की पनि १३ बल खेलेर ३ रन बनाउँदै क्रिज छाड्दा आरिफ शेख २७ रनमा आउट भए।

त्यसैगरी २८ बल खेलेर दीपेन्द्र सिंह ऐरीले २३ रन जोड्दा गुल्सन झाले रन बनाउन सकेनन्। उनी पहिलो बलमै जुनैद सिद्दिकीको बलमा क्याचआउट हुनपुगे।

त्यसपछि आएका सोमपाल कामीले १३ बलमा ६ रन जोडे भने करण केसीले ८ बलमा १३ रन बनाए। नेपालले ७ अतिरिक्त रन उपहार दिएको थियो।

यूएईका लागि जुनैदले ३ विकेट झार्दा मुहम्मद रोहिद र हैदर अलीले समान १ विकेट लिए। यता जाहिद अलीले सर्वाधिक ४ विकेट आफ्नो नाममा गर्दा ध्रुव पराशरले विकेट लिन सकेनन्।

प्रतिक्रिया दिनुहोस्