रौतहट, २७ साउन । रौतहटस्थित लालबकैया नदीमा मंगलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जना बुधबार बिहान मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार देवाही गोनाही नगरपालिका-१ करुनिया नवासी करमे आलमका छोरा १० वर्षीय मोहमद रमतुला र सोही स्थानका हिसी अकतरकी छोरी १० वर्षकै सबनम खातुनका शव आज बिहान फेला परेका हुन्।
‘महमद आज बिहान ७:३० बजे घटनास्थलबाट अन्दाजी ५ किमि दक्षिण र सबनम ५.२ किमि दक्षिण लालबकैया खोला किनारमा मृत भेटिएका हुन्’, डीएसपी गौतमले भने।
अस्थायी प्रहरी पोस्ट जिंगडवाबाट प्रहरी सहायक निरीक्षक लालबाबु सहनिको कमान्डको टोलीले उनीहरूका शव फेला पारेको हो।
‘अब शवको कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमान्डमा टोली खटिएको छ’, उनले भने।
अब त्यही ठेगानाका सेफ खुर्सिदकी छोरी १० वर्षकै रौशन खातुन भेटिन बाँकी रहेको र खोजी भइरहेको डीएसपी गौतमले जानकारी दिए।






