मेचीनगर, १४ पुस । सहकारी भन्नेवित्तिकै वचत संकलन र ऋण लगानी गरेर नाफा कमाउने संस्थाको झल्को धेरैको मानसपटलमा आउने गर्छ । तर, मेचीनगरमा भने एउटा फरक खालको सहकारी रहेको छ । मेचीनगर नगरपालिका वडा नं.१० मा मुख्य कार्यालय रहेको लंकाशनी महिला सम्वृद्धि बहुउद्देशिय सहकारीले भने सामूहिक रुपमा खेती गर्दै आएको छ ।
उक्त संस्थाले मेचीनगर नगरपालिका वडा नं.१० ढाँटमा बद्री भट्टराईको जग्गा पाँच वर्षका लागि लिजमा लिएर सामूहिक खेती गर्दै आएको हो ।
सहकारीले वार्षिक ५० हजार भाडामा लिएको उक्त जमिनमा अहिले तोरी खेती गरिरहेको सहकारीका अध्यक्ष रुपा पौडेलले जानकारी दिइन् ।
उनका अनुसार यसअघि कृषि ज्ञान केन्द्र झापासँग समन्वय गरेर च्याउ खेतीबाट आफनो कृषि व्यवसाय सुरु गरेको संस्थाले तरकारी खेती हुँदै फापर, धान, मकै र अहिले तोरी खेती गरिरहेको बताइन् ।
सहकारीले नेपाल सरकारले उपलब्ध गरेको सात लाख रकमले तोरी मिल समेत स्थापना गरेको उनले सुनाइन् । वि.सं २०६९ सालमा स्थानीय २५ जना महिला भेला भएर बचतको कारोबार गर्दै आएको समूहमा अहिले ३०० जना शेयर सदस्य र ६०० जना बचतकर्ता रहेको संस्था व्यावसायिक रूपमा कृषि उत्पादनमा जोडिएको उनले बताइन् ।
संस्थाले सुरुका दिनमा समूहका रुपमा सञ्चालन गरे पनि वि.सं.२०७३ सालमा मेचीनगर नगरपालिका वडा नं.१० ढाँटमा कार्यालय स्थापना गरेर संस्थालाई व्यवस्थित तरिकाले सञ्चालन गर्दै आएको उनले बताइन् ।
उनले उत्पादन गरेका बालीमा आवश्यक परेको समयमा मलको अभाव भोग्नु परेकोले सरकारले मलका लागि नगरसँग समन्वय गर्ने वातारण मिलाउनसमेत आग्रह गरेकी छन् ।
सहकारीले आगामी दिनमा आफैँ धान, मकै र तोरीको बिउको उत्पादनका साथै बेसार खेती गर्ने योजनामा रहेको संस्थाका कृषि संयोजक रोश्नी खनालले जानकारी दिइन् ।
यसअघि गरेको तरकारी, धान, मकै लगायतका खेतीमा सोचे अनुरुप उत्पादन भएको र खेती गर्न हौसला मिलेको बताइन् । खनालले यस वर्ष पनि १५ देखि २० मन तोरी उत्पादन हुने आपेक्षा राखेको बताइन् ।
उनका अनुसार सहकारीमा गएर काम गर्न घरपरिवारबाट राम्रो साथ सहयोग मिल्ने गरेको सुनाइन् । सहकारीले खेतीबाट राम्रो उत्पादन दिई रहेकोले आफूहरु सन्तुष्ट रहेको उनले बताइन् ।
मेचीनगर नगरपालिका वडा नं.१० का वडा सदस्य विशाल कार्कीले सहकारीले गरेको काम वडाकै लागि गर्वको विषय भएकाले आगामी दिनमा नगरमा आवश्यक पहल र वडाबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच ऋण, बचतको काम मात्रै नगरी उत्पादनका क्षेत्रमा पनि लगानी गर्नुपर्ने प्रावधान भए पनि अधिकांश सहकारी त्यसतर्फ तत्पर छैनन् । केही सहकारीले गरेको लगानी पनि फलदायी हुनसकेको छैन । कृषि र पशुपालनको नाम दिएर सञ्चालित सहकारी पनि ऋण, बचतमा लागेका देखिन्छन् ।