Logo

लकडाउन जारी, झापा खुला (फोटो फिचर)



झापा, २९ जेठ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) सुरु गरेको ८०औँ दिनपछि झापाका बजारहरुमा चहलपहल बाक्लिएको छ ।

दुई महिना लामो लकडाउन खुकुलो भएसँगै बिर्तामोडको अवस्था सामान्य बन्दै गएको छ । बजार पसल बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म नियमित सञ्चालन गर्न दिने निर्णय भएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाको अगुवाइमा शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको सर्वपक्षीय बैठकले लकडाउन थप खुकुलो पार्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै जिल्लामा विहानैदेखि मानिस र सवारीसाधनको चहलपहल केही बढेको पाइएको छ । निजी सवारी साधनमा कार, मोटरसाइकल र ट्याक्सीलगायतका सवारी साधन प्रशस्त मात्रामा चलेका छन् । अन्य दिनको तुलनामा सडकमा पैदल हिँडेर गन्तव्य जाँदै गरेका सर्वसाधारण चाप बाक्लिएको छ भने सार्वजनिक यातायात भने चलेका छैनन् ।

जिल्लाका बजारमा रहेका खाद्यान्न, मल, विउविजन, हार्डवेयर, इट्टा विक्री केन्द्र, बैङ्क तथा वित्तीय संस्थाहरू, ग्यारेज तथा मोटरपार्टस लगायतका पसलहरू सरकारले तोकेको मापदण्ड पूरा गरी खोल्ने निर्णय भएपनि त्यस बाहेकका पसलहरु पनि सञ्चालनमा आएका छन् ।

बजारको अवस्था सामान्य बन्दै गए पनि कोरोना संक्रमणको जोखिम भने उच्च छ । संक्रमण बढ्दै गएका कारण व्यापारीलाई सतर्कत अपनाएर व्यावसाय गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्