Logo

लकडाउनमा सामुदायिक वनका रुख र वन्यजन्तु जोगाउनै समस्या



झापा, १ बैसाख । आमनागरिक लकडाउनको पालना गर्दै घरभित्रै छन् । अत्यावश्यक कामबाहेक कसैलाई पनि बाहिर ननिस्कन सरकारले आह्वान गरेको छ । तर, यहीबेला झापाको वन जङ्गलमा पसेर रुख काट्ने र वन्यजन्तुको चोरी शिकारी गर्ने गतिविधि बढ्दै गएको छ ।

लकडाउनका अवस्थामा सुरक्षा संयन्त्रको सम्पूर्ण ध्यान कोभिड–१९ को सङ्क्रमण फैलिन नदिनेतर्फ मोडिएको बेला पेशेवर वन तस्कर र शिकारीले अवसर छोप्न थालेको सामुदायिक वनका पदाधिकारहरु नै बताउँछन् । “कसरी कोरोना फैलिन नदिने भनेर रोकथामका लागि हामी सबै लागिरहेका छौँ, उत्तरी झापाको अर्जुनधारास्थित दहीझोडा सामुदायिक वनका अध्यक्ष खगेन्द्र सुब्बाले भने, “वन तस्करहरु भने यही हो मौका भन्दै जङ्गलतिर पस्न थालेका छन् ।”

यो समस्या सरकारको प्रत्यक्ष नियन्त्रणमा रहेको सरकारी वन र समुदायको संरक्षणमा रहेको सामुदायिक वन दुवैतिर बढ्दो मात्रामा छ । शिकारीहरुले वन क्षेत्रमा प्रवेश गरेर डढेलो लगाउने र वन्यजन्तु मार्ने गरेको हुँदा समुदायले बन्दाबन्दीको बेलासमेत गस्ती बढाउनुपरेको सामुदायिक वनहरुले जनाएका छन् ।

दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्दै आएका मजदूरले समेत कामविहीन भएपछि वन क्षेत्रमा वन्यजन्तुको शिकार गर्न थालेका छन् । झापाको वनमा बँदेल, हरिण, दुम्सी, मृग, खरायो, मयुर, लुइँचेलगायतका जीवजन्तु छन् ।

लकडाउनसँगै चोरी शिकारीबाट वनका जनावर जोगाउन नसकिने अवस्था आइसकेको दहिझोडा सामुदायिक वनका अध्यक्ष सुब्बाले बताए । उनका अनुसार दहिझोडा वनमा यसै साता शिकारीले दुई पटक डढेलो लगाइसकेका छन् ।

तस्कर र शिकारीहरु सक्रिय भएको पाइएपछि सीमा जोडिएका झापाका केही सामुदायिक वनले वन्यजन्तुको शिकार, काठ चोरी तस्करी र आगलागीबाट जोगाउन सामूहिक गस्ती गर्न थालेको कनकाइस्थित जामुनखाडी सामुदायिक वनका अध्यक्ष खेम सिटौलाले बताए ।

उनले कनकाई नगरपालिकाभित्रका जामुनखाडी, सुकेडाँगी, प्रजापति र अर्जुनधारा नगरपालिकामा रहेको दहीझोडा सामुदायिक वनले मिलेर संयुक्त गस्ती परिचालन गरिरहेको बताए ।

“कोरोनाको सङ्क्रमणबाट आफू जोगिने कि वन जोगाउने बडो समस्या भयो”, अध्यक्ष सिटौलाले भने, “लकडाउनका बेला अवसर छोप्नेहरुलाई कारवाही गर्न सरकारले नयाँ कार्ययोजना अघि सार्नुपर्छ ।” लकडाउनका बेला वन जोगाउन वनका कर्मचारी र पदाधिकारीहरुलाई मुस्किल परिरहेको उनले बताए ।

बाँसबारी सामुदायिक वन समितिका अध्यक्ष तकदिर प्रसाईले जङ्गलभित्र अचानक आगलागीका घटना बढेपछि अनुगमन गर्दा हरिण र बँदेलको चोरी शिकारीमा लागेकाहरु सक्रिय भएको पाइएको बताए । उनले बन्दाबन्दीका बेला वन र वन्यजन्तुको संरक्षणमा राज्यको विशेष ध्यान जानुपर्ने बताए ।

झापामा रहेका ५९ वटा सामुदायिक र तीन वटा कबुलियती वन छन् । सबै वनको साझा समस्या नै चोरी तस्करी र आगलागी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । वन क्षेत्रमा तस्करी र शिकारी बढेको जानकारी पाएपछि कार्यालयले एक हप्ता अघि नै लकडाउनका बेला वन क्षेत्रमा सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाइएको सार्वजनिक सूचना जारी गरेको छ ।

लकडाउन अवधिभर जिल्लाका सामुदायिक, कबुलियत वनमा अत्यावश्यक संरक्षणबाहेकका अन्य सबै कार्यहरु वन ऐन, २०७६ को दफा ९ बमोजिम बन्देज लगाइएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । उनले अनधिकृत रुपमा वन क्षेत्रमा प्रवेश गरेमा कारवाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्