Logo

लक्ष्मी पूजाको दियो र विद्युत् सर्ट हुँदा देशका विभिन्न स्थानमा आगलागी



काठमाडौँ, २७ कात्तिक । लक्ष्मी पूजाको साँझ आइतवार देशका विभिन्न भागमा लक्ष्मी पूजामा बालिएको दियो र विद्युत् सर्ट हुँदा आगलागी भएको छ । भोजपुर, खोटाङ, संखुवासभा, सुनसरी, बाँके, गोरखा लगायतका जिल्लामा भएको आगलागीबाट धनमालको ठूलो नोक्सानी भएको छ ।

भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आइतवार आगलागी हुँदा रु २६ लाख ५८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यसैगरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ ।

लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा ५ धनौली नजिकैको एक हार्डवेयर पसलमा आइतवार साँझ आगलागी भएको छ ।लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले विष्णु वर्माले सञ्चालन गर्दैआएको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ ।

सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आइतवार राति आगलागी भएको छ । वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको छ । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गए राति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

यसैगरी गोरखाको धार्चे गाउँपालिका(१ हुच्लचोकस्थित एक घरमा शनिवार राति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ७५ वर्षकी कान्छी गुरुङ र उनका छोरा ३९ वर्षका चन्द्रसिंह गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्