काठमाडौं, १० पुस । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले लक्ष्यअनुसार ८० प्रतिशत नागरिकले राष्ट्रिय परिचयपत्र लिएको जनाएको छ । १६ वर्ष माथिका एक करोड ६३ लाख नागरिकको विवरण अद्यावधिक भइसकेको विभागका सूचना प्रविधि निर्देशक सुभास ढकालले बताउनुभयो ।
विभागले एक करोड ८० लाखदेखि २ करोड नागरिकले राष्ट्रिय परिचयपत्र लिने आंकलन गरेको छ । यसैबीच राष्ट्रिय परिचयपत्रको अनिवार्य गरिसकेपछि सामाजिक सुरक्षा भत्ता लिनेको संख्या घटेको उहाँले बताउनुभयो । योगदानमा आधारित सुरक्षा भत्ता लिन, कम्पनी दर्ता गर्न, राहदानी बनाउन सरकारले पछिल्लो समय राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
तोकिएका कतिपय स्थानमा लाइन बस्नुपर्ने, भीडभाड हुने भएकाले राष्ट्रिय परिचयपत्र लिन कठिनाई भएको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई सहज बनाउने उद्धेश्यले सरकारले राष्ट्रिय परिचयपत्रको व्यवस्था गरेको हो ।