काठमाडौँ, ९ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीको लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार रहेको बताएका छन् ।
मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष डा.बद्री केसीको नेतृत्वको टोलीसँगको छलफलका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीका लागि उचित वातावरण बनिसकेकाले ढुक्क भएर लगानी भित्र्याउन आह्वान गर्दै लगानी भित्र्याउन सरकारले आवश्यक सबै नीति संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने, “नेपालमा सुरक्षित लगानीको वातावरण छ, तपाइँहरुले आफ्नो लगानी ल्याउन सक्नुप¥यो ।” उनले नेपालमा लगानी गरेर मुनाफा लिन सक्ने वातावरण बनिसकेको उल्लेख गर्दै बढीभन्दा बढी लगानी भित्र्याउन गैरआवासीय नेपाली सङ्घले पहलकदमी लिनुपर्नेमा जोड दिए । सरकारले आयोजना गर्न लागेको लगानी शिखर सम्मेलन २०२४ मा पनि एनआरएनएलाई उनले अहम् र महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
त्यसअघि सङ्घका अध्यक्ष डा.केसीले मन्त्री भण्डारीलाई सङ्घका तर्फबाट ज्ञापनपत्र दिँदै नेपालमा रोजगारी सृजना, उद्यमशीलता तथा पूर्वाधार विकाससँगै समृद्ध नेपाल निर्माणका लागि गैरआवासीय नेपालीको लगानी तथा ज्ञान, सीप र प्रविधि प्रोत्साहन गर्न आवश्यक कानुनी तथा नीतिगत बाधा-अड्चन संशोधन गर्न मन्त्री भण्डारीसँग अनुरोध गरेका थिए ।






