काठमाडौं, १३ कार्तिक । तत्कालीन अवस्थामा शान्ति प्रक्रियाका क्रममा अस्थायी शिविरमा राखिएका माओवादी लडाकूका नाममा निकासा भएको रकम घोटालाबारे छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी परेको छ ।
युवराज पौडेल ‘सफल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिवद्वय वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र लडाकु कमान्डर चक्रपाणि खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन् ।
त्यस्तै उजुरी पर्नेमा सन्तु दराई, सुक बहादुर रोका, धनबहादुर मास्के, यम बहादुर अधिकारी, तेज बहादुर ओली, गणेशमान पुन, काली बहादुर खाम र महेन्द्र बहादुर शाही छन् ।
उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ।
माओवादी अध्यक्ष प्रचण्डले स्वयमले ७ हजार सेनालाई ३५ हजार पुर्याएर २० हजार भेरिफिकेसनमा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रुपमा राखिएको छ ।
उजुरीमा माओवादी शिविर व्यवस्थापन गर्दा ६ वर्षको अवधिमा २० अर्ब खर्च भएको जिकिरसहित अधिकांश रकम प्रचण्डको योजनामा निकासा गरेर भ्रष्टाचार गरिएको उल्लेख छ ।
निवेदक पौडेलले राज्यकोषबाट माओवादीले ४ अर्ब हिनामिना गरेको देखिने भएकाले उनीहरूलाई पक्राउ गरी हदैसम्मको कारवाही माग गरेका छन् । पौडेलले दिएको निवेदन अख्तियारले दर्ता गरिसकेको छ ।