Logo

लन्डन उड्ने तयारीमै दुःखद अन्त्य, पाटनमा दाजुभाइको चक्कु प्रहारबाट मृत्यु



काठमाडौं, २६ चैत । पाटन दरबार स्क्वायरमा बुधबार साँझ भएको चक्कु प्रहार घटनामा दुई दाजुभाइको ज्यान गएको छ। मृतक ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङ रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार एक फोन गलत नम्बरमा डायल भएपछि उत्पन्न विवादले घटना भएको हो। विवाद मिलाउन र माफी माग्न पुगेका दाजुभाइमाथि एक व्यक्तिले आक्रमण गरेका थिए।

प्रहरीका अनुसार स्थानीय मासु पसलमा कार्यरत सञ्जीव नेपालीले सुरुमा सिर्जनमाथि चक्कु प्रहार गरेका थिए। भाइमाथि आक्रमण भएपछि छुट्याउन पुगेका सुमितमाथि पनि छुरा प्रहार गरिएको थियो।

घटनापछि सातदोबाटो र पुल्चोकबाट प्रहरी टोली खटिएको थियो। आरोपी भाग्ने क्रममा नजिकैको एक रेस्टुरेन्टबाट पक्राउ परेका छन्।

घाइते दुवैलाई बिएण्डबी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार दाजुभाइ इमाडोलमा बसोबास गर्दै आएका थिए र आफ्नी आमालाई भेट्न लन्डन जाने तयारीमा रहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्