Logo

लम्पी स्किन रोगले थलिँदै चौपाया



इलाम, ८ वैशाख । मधेस प्रदेशबाहेकका करिब ३० वटा जिल्लाका पशुचौपायामा लम्पी स्किन रोग फैलिएको छ ।

पशु सेवा विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० मा मात्रै मुलुकभर करिब ११ हजार ६५ गाईभैंसी संक्रमित भएका छन् भने सैयौंको मृत्यु भएको छ । यसका कारण किसानले करोडौंको क्षति बेहोर्नुपरेको छ ।

सन् २०१९ बाट नेपालका गाईभैंसीमा देखिँदै आएको लम्पी स्किन रोग यस वर्ष अझै तीव्र गतिमा फैलिएको विभागले जनाएको छ । विभागका अनुसार नेपालमा २०७७ साल असार १० मा मोरङको सुन्दरहरैंचा नगरपालिका-११ का गाईहरूमा यो रोगका लक्षणहरू पहिलोपटक देखा परेको थियो ।

यो रोगका कारण कोसी प्रदेशमा मात्रै १ सय ५० भन्दा बढी गाईको मृत्यु भएको छ। यसमा सबैभन्दा बढी इलामका किसान प्रभावित छन् । दुई महिनाकोबीचमा संक्रमणको रूपमा फैलिएको लम्पीको कारण कोसीका गाईपालक कृषकहरूले दुई करोडभन्दा बढीको पशुधन गुमाएका छन् ।

चिकित्सकका अनुसार यो रोग भैंसीमा भन्दा गाईमा बढी देखिन्छ । गर्मी मौसममा टोक्ने झिंगा, डाँख, लामखुट्टे, किर्नाजस्ता कीराहरूको संख्या बढी हुने तथा थप सक्रिय हुन्छ । त्यसैले गर्मी मौसम आएसँगै कोसी प्रदेशका १४ वटै जिल्लामा यो रोगको प्रकोप देखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक पशुपति ढुंगानाले जानकारी दिए । उनका अनुसार गर्मी क्षेत्रमा यसको प्रकोप बढ्दो क्रममा छ ।

इलाम जिल्लामा मात्रै अहिले ३ हजार ५ सय ८ वटा गाई, बाच्छाबाच्छीमा यसको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिइन् । उनले भनिन्, ‘यो केही समय अघिको विवरण हो । अहिले अझै बढेको हुन सक्छ ।’

इलाममा मात्रै अहिलेसम्ममा २७ वटा गाई, बाच्छाबाच्छी मरेका छन् । इलामका एउटै गाईको मूल्य दुई लाखसम्म पर्छ। जिल्लामै सबैभन्दा बढी प्रकोप रहेको सूर्योदय नगरपालिकामा मात्रै अहिलेसम्ममा २० वटा पशु मरिसकेका छन् ।

सूर्योदय नगरपालिकाको पशुशाखा प्रमुख विपिन सिंहले भने, ‘संक्रमणको अवस्था भयावह छ । हामी त्यही विषयमा छलफलमा छौं ।’ सूर्योदयमा अहिले २ हजार गाईमा संक्रमण देखिएको सिंहले जानकारी दिए । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्