काठमाडौँ, १९ असार । सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ ।
रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यक चासो लिएका छन् । उनले कृषि तथा पशुपन्छीमन्त्री डा बेदुराम भुसाल र मन्त्रालयका उच्च अधिकारीलाई आवश्यक निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले प्रभावकारीरूपमा पशु स्वास्थ्यकर्मी परिचालन गर्न, खोप आपूर्ति बढाउन तथा तत्काल खोप लगाउनका लागि जनशक्तिको आवश्यक प्रबन्ध गर्नसमेत सम्बद्ध अधिकारीलाई स्पष्ट निर्देशन दिएका हुन् ।
सरकारले हालसम्म सात लाख ३७ हजार डोज खोप आयात गरी सातै प्रदेशमा उपलब्ध गराएको छ । पशु सेवा विभागका अनुसार एक लाख ७२ हजार एक सय २८ पशु चौपायामा खोप लगाइसकिएको छ ।
महामारी नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा स्थानीय तहमा सङ्घीय सरकारले स:शर्त अनुदानअन्तर्गत रु एक लाखका दरले बजेट उपलब्ध गराइएको छ ।







