झापा, ९ भाद्र । झापाको दमकस्थित एक होटलमा १३ वर्षीया बालिकालाई ललाइफकाइ यौनशोषणमा लगाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक नगरपालिका–८ स्थित मनकामना होटल एण्ड लजका सञ्चालक ५५ वर्षीय गणेशप्रसाद अधिकारी र बालिकालाई होटलमा पुर्याएको आरोप लागेकी मोरङ केराबारी–९ देवीझोडाकी, हाल दमक बस्दै आएकी जुनु भन्ने पार्वती ऋषिदेव रहेका छन्।
प्रहरीका अनुसार १३ वर्षीया बालिका गत साउन ३१ गते घरबाट निस्किएपछि परिवारको सम्पर्कमा आएकी थिइनन्। आफन्तले उनको खोजीका लागि इलाका प्रहरी कार्यालय दमकमा हुलिया निवेदन दिएका थिए।
खोजतलासका क्रममा प्रहरीले भदौ ४ गते बालिकालाई दमक–८ स्थित उक्त होटलबाट फेला पारेको थियो। घटनाबारे अनुसन्धान गर्दा पार्वती ऋषिदेवले बालिकालाई ललाइफकाइ होटलमा पुर्याएको र होटल सञ्चालक अधिकारीले उनलाई यौनशोषणमा लगाएको आरोप खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवैजनालाई पक्राउ गरी भदौ ७ गते झापा जिल्ला अदालतमा पेश गरेको थियो। अदालतबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






