ललितपुर, १५ असोज । वर्षाजन्य विपदमा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज दिनुभएको जानकारी अनुसार विपत्तीको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र मङ्गलबार बिहानसम्म छ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।
फेला परेका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराउनुभयो । “पाटन अस्पतालमा आएका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भइ आफन्तले बुझेर लैजानुभएको छ, अरु फेला परेका शवलाई प्रहरीको सहयोग र समन्वयमा पोष्टमार्टमका लागि पाटन ल्याउने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।
नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल गाउँपालिका वडा नं २ मानिखेल लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान, महाङ्काल–२ ठोस्ने खोला बस्ने एकै परिवारका ४० वर्षकी राममाया स्याङ्तान, निजका छोरा १४ वर्षका अजय स्याङ्तान, अर्का छोरा ११ वर्षका सुवास स्याङ्तान र छोरी ९ वर्षकी सलिना स्याङ्तानको शव फेला परेको छ ।
प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार वर्षाजन्य विपद्मा परेर अझै १० जना बेपत्ता रहेका छन् । प्रहरीले अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल–३ गोटीखेल बस्ने इश्वर तिमल्सिना, उहाँकी आमा र श्रीमती गोमा असोज १२ गतेबाट बेपत्ता छन् ।
त्यस्तै रौतहट घर भई ललितपुर महानगरपालिका–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने ५ वर्षका सेतु साह, ओखलढुङगा घर भई ललितपुर बस्ने ४० वर्षका देवराज कार्की, रौतहट गौर गाउँपालिका वडा नं ६ घर भई ललितपुर–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने ३२ वर्षका बिकाउ साह बेपत्ता छन् ।
गोदावरी नगरपालिका–६ आनन्दवन अस्पतालमा काम गरी बस्ने ३० वर्षका विवेक सिंह, बागमती गाउँपालिका–१ घुसेलका ५० वर्षका केशव न्यौपाने, महाङ्काल वडा नं २ बस्ने १२ वर्षकी सञ्जिता स्याङ्तान, ३५ वर्षका छविलाल स्याङ्तान र छविलालकी भाउजु (नाम नखुलेको) बेपत्ता छन् ।